भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
काठमाडौं, ८ पुस । भारतले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा जाने नेपाली सैनिकहरूलाई आफ्नो सेनामातहत परिचालन गर्न ‘राजनीतिक लबिइङ’ थालेपछि नेपाली सेनाले त्यस्तो नगर्न सांकेतिक प्रतिक्रिया दिएको छ ।
उच्च स्रोतका अनुसार भारतले क्षेत्रीय (सार्क) र उप–क्षेत्रीय (बीबीआईएन) सुरक्षाको हवाला दिँदै नेपाली सेनालाई भारतीय सेनाको ‘कमान्ड’अन्तर्गत रहने गरी शान्ति मिसनमा लैजाने अनौपचारिक प्रस्ताव राखेको थाहा पाएपछि जंगी अड्डाले त्यस्तो नगर्न राजनीतिक नेतृत्वलाई सुझाव दिएको हो ।सुरुवातमा सार्कमार्फत राष्ट्रसंघ (यूएन) को शान्ति मिसनमा जानुपर्ने उल्लेख गर्दै आएको भारतले पाकिस्तानसँगको दूरीपछि सार्ककै अर्को उपक्षेत्रीय संगठन बीबीआईएन (बंगलादेश, भुटान, भारत र नेपाल) मार्फत शान्ति स्थापनार्थ खटिनुपर्ने धारणा अघि सारेको हो । भारतले नेपालको राजनीतिक तहमा लबिइङ गरेपछि सशंकित बनेको सेनाले कुनै हालतमा राष्ट्रलाई घात हुने सम्झौता नगर्न अनुरोध गरेको उच्च स्रोतको दाबी छ ।
परराष्ट्रमन्त्री प्रकाशशरण महत भारत भ्रमणमा निस्कनुअघि सेनाले आफ्नो सरोकार सरकारसमक्ष राखेको बुझिएको छ । परराष्ट्रमन्त्री महतले भने नेपालले शान्ति सेनामा पठाउने विषयमा हालको संरचनामा कुनै परिवर्तन नहुने बताए । ‘मैले यूएनको भ्रमण गर्ने क्रममा महासचिवलाई नेपाललाई दिँदै आएको कोटा बढाउन र अधिकृतहरूलाई पनि कोटा दिन भनेको छु ।’ आजको कान्तिपुर दैनिकले समाचार छापेको छ।
भारतले नेपाली सेनालाई भारतीय सेना नेतृत्वको क्षेत्रीय संरचनामातहत लैजाने प्रस्ताव बेलाबखत राख्दै आएको छ । भारतीय स्थल सेनाध्यक्ष दलवीर सिंह कात्तिक २६ देखि २८ सम्म नेपाल भ्रमणमा आउँदा पनि भारतीय पक्षबाट उक्त विषय अप्रत्यक्ष ढंगबाट उठाइएको स्रोतको भनाइ छ ।
त्यसअघि गत वर्ष काठमाडौंमा आयोजित एक कार्यक्रममा भारतीय सेनाका पूर्व मेजर जनरल अशोक मेहताले भारत, नेपाल लगायतका देशले सार्कमार्फत शान्ति सेना पठाउनुपर्ने कुरा राखेका थिए । लैनचौरस्थित मल्ल होटलमा भारतीय पक्षले आयोजना गरेको उक्त कार्यक्रममा मेहता दुई जर्नेल र केही कर्मचारीसहित आएका थिए भने दक्षिण एसियाका आठ राष्ट्र र यूएनका प्रतिनिधि पनि सहभागी थिए । नेपालका केही पूर्वजर्नेल उपस्थित रहे पनि त्यो कार्यक्रममा सेनाले भने कसैलाई पठाएको थिएन, बरु कार्यक्रमको उद्देश्यमाथि सन्देह जाहेर गरेको थियो । उक्त कार्यक्रमले यूएन मिसनमा साझा क्षेत्रीय सहभागिताका सम्बन्धमा कार्ययोजना तयार पारी त्यस सम्बन्धी पत्र राष्ट्रसंघीय मुख्यालयमा समेत पठाएको स्रोतले उल्लेख गर्यो । उक्त पत्रअनुरूप शान्ति सेनामा साझा सहभागिताका लागि भारतले नेपालसँग कुनै किसिमको सम्झौता गर्न अहिले पहल गरिरहेको हो । दुई देशबीच राजनीतिक तहमा यस्तो कुनै सम्झौता गरिएला कि भन्नेमा नेपाली सेनाले सरकारसमक्ष सरोकार राखेको छ ।
भारतले पछिल्लो समय सार्कमा पाकिस्तान रूष्ट भएपछि बीबीआईएनलाई आधार मानेर यस सम्बन्धी रणनीति चाल्दै छ । ‘अफ्रिकी राष्ट्रहरूको संयुक्त सेना भएसँगै बीबीआईएनको पनि संयुक्त सेना हुनुपर्ने प्रस्ताव भारतको छ,’ स्रोतले भन्यो, ‘जसलाई नेपालले स्वीकार गर्नु आत्मघाती हुनेछ ।’
नेपाली सैनिक विश्वभरि नै शान्ति स्थापनामा अब्बल मानिन्छन् । अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको सबभन्दा महत्त्वपूर्ण पक्षका रूपमा ‘तटस्थता’लाई लिइन्छ । त्यसले गर्दा नै द्वन्द्वग्रस्त मुलुकको रोजाइमा नेपाल पर्दै आइरहेको छ । नेपालले ५८ वर्षदेखि निरन्तर शान्ति मिसनमा सहभागिता जनाउँदै हालसम्म १ लाख १४ हजार ७ सय ९४ सैनिकलाई यूएनको शान्ति मिसनमा पठाइसकेको छ ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |

No comments:
Post a Comment