• Breaking News

    Friday, April 28, 2017

    जहाँ खानेपानीको पाइपबाट आउछ दुध

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    जहाँ खानेपानीको पाइपबाट आउछ दुध

     गोटिखेल (ललितपुर) – खानेपानीको पाइपबाट दूध ढुवानी हुन्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर, ललितपुरको दक्षिण भेगमा पर्ने गोटिखेलमा २० एमएमको प्लास्टिक पाइपबाटै हरेक बिहान दूध ढुवानी गरिन्छ । पाँच किलोमिटर टाढाको रिङगिङडाँडाबाट चार सय लिटर दूध गोटिखेल बजारमा पाँच मिनेटमै झर्छ । ललितपुर जिल्ला दुग्ध उत्पादन सहकारी संस्थाका सञ्चालक शिवप्रसाद सञ्जेलका अनुसार गोटिखेलमा मात्र होइन, बुखेल, इकुडोलमा पनि पाइपबाट दूध संकलन हुने गरेको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

    २० एमएमको पाइपमा दूध ढुवानी

    गोटिखेलमा सुख्खा मौसममा कम दूध आए पनि वर्षा र हिउँदमा भने दैनिक सात सय लिटरसम्म दुध संकलन हुने गर्छ । किसानहरूले पालेका भैंसी र गाईको दूध हरेक दिन २० एमएमको पाइपमा दूध ढुवानी हुँदै आएको छ । बिहान ५ बजेभित्रै किसानहरूले दूध दुहेर रिङगिङडाँडामा पुर्याइसक्छन् । त्यहाँ नापजोख गरी सबै दूध पाइपबाट गोटिखेल पुर्याउने गरेको महांकाल गाउँपालिका–२ का विष्णुप्रसाद घिमिरेले बताए ।

    दूध पठाउन ढिला गरेमा बिग्रने भएकाले बिहानै गोटिखेल दूध चिस्यान केन्द्रमा पठाइन्छ । पहिले पानी पठाएर पाइप सफा गरेर मात्र दूध पठाउने गरिन्छ । ‘दूध पठाउँदा पाइपको अवस्था कस्तो छ भन्दै सबैभन्दा पहिले पानी पठाइन्छ,’ सञ्जेलले भने, ‘पानी रिङगिङडाँडाबाट गोटिखेल पुगेपछि दूध पठाउने गरिन्छ, सबै दूध पाइपबाट पठाइसकेपछि अन्तिममा पानी हालेर दूध निखारिन्छ ।’

    फ्याटअनुसार किसानलाई पैसा

    किसानलाई दूधको फ्याटअनुसार पैसा दिने गरिएको छ । दूधको फ्याट नाप्न डिजिटल मेसिन राखिएको छ । किसानले आफ्नो दूधको पैसा आफैं हिसाब गरेर तत्काल निकाल्न सक्छन् । एक फ्याटको साढे १० रुपैयाँ पर्छ । यसरी एक लिटर दूधको किसानले ६५ देखि एक सय रुपैयाँसम्म पाउँछन् । रिङगिङडाँडामा एउटा किसानले एकदेखि १२ वटासम्म भैंसी पालेका छन् । केहीले गाई पनि पालेका छन् । एक किसानले दैनिक २० लिटरभन्दा धेरै दूध बिक्री गर्दै आएका छन् । सबै खर्च कटौती गरी किसानले मासिक ५० हजार रुपैयाँसम्म कमाउने गरेको सञ्जेलको भनाइ छ ।

    पाइपको दूध सिधै काठमाडौं

    गोटिखेल दुग्ध चिस्यान केन्द्रमा जम्मा भएको दूध सिधै काठमाडौं आउँछ । हिजोआज गोटिखेलमा दैनिक ६ सय लिटर दूध संकलन हुने गरेको छ । वर्षा र हिउँदमामा ८ सय लिटरभन्दा धेरै दूध संकलन हुने गरेको सञ्जेलले बताए । गोटिखेलबाट १० बजेभित्रै काठमाडौंका लागि दूध पठाउने गरिन्छ । यसरी ल्याएको दूध काठमाडौं, ललितपुरका विभिन्न डेरीमा बिक्री हुने गरेको छ ।

    भैंसीको खानपिन सबै अग्र्यानिक

    रिङगिङडाँडामा क्षेत्री बाहुनको बसोबास धेरै छ । दूधका लागि भैंसी वा गाई नपालेको घर पाउन मुस्किल पर्छ । सो डाँडामा करिब ४० घरधुरी छन् । भैंसीलाई गाउँघरमै पाइने डाले र भुइँको घास मेसिनले काटी धुलो बनाएर खुवाइन्छ । यस्तै, पराल, पिना, मकैको पिठो खोले बनाई दिइन्छ । धेरैजसो भैंसीको विमा गरिएको छ । कुनै कारणवश भैंसी मरेमा विमामार्फत किसानले क्षतिपूर्ति पाउँछन् । किसानले लगाउने मकै, धान, कोदोलगायत बाली सबै अग्र्यानिक हुने महांकाल–१ गोटिखेलका रामप्रसाद तिमल्सिनाले बताए ।

    दूध उत्पादनमा वृद्धवृद्धा

    युवा जनशक्ति विदेश जान थालेपछि वृद्धवृद्धाले दूध उत्पादन गर्ने गरेको महांकाल गाउँपालिका–२ रिङगिङडाँडाका नोक्तप्रसाद घिमिरे बताउँछन् । घिमिरेका दुई भाइ छोरामध्ये एक व्यवसाय र अर्का छोरा विदेशमा छन् । तर, घरमा घिमिरे दम्पतीले एउटा भैंसी पालेर दैनिक सात लिटर दूध बिक्री गर्दै आएका छन् ।

    पाँच मिनेटमै दूध संकलन-पाइपबाट दूध ढुवानी गर्न थालेपछि किसानको समय पनि बचत हुने गरेको छ । यसअघि दूध संकलन गर्न दुई घन्टा लाग्ने गरेकोमा अहिले पाँच मिनेटमै जम्मा हुने गरेको छ । ‘दूधको क्यानलाई नाम्लोमा बोकेर गोटिखेल पु¥याउन दुई घन्टाभन्दा धेरै समय लाग्थ्यो,’ महांकाल गाउँपालिका–२ का निलप्रसाद बजगाईंले भने, ‘बजार जाँदा अलमलमै त्यसै समय खेर जान्थ्यो, त्यो समय अहिले बचेको छ ।’ रिङगिङडाँडाको दूध गोटिखेलमा पाँच मिनेटभित्रै जम्मा हुन थालेपछि किसानहरू मख्ख छन् । दूध ढुवानी गर्न सजिलो भएपछि सो भेगमा भैँसी पाल्नेको संख्या पनि बढेको छ ।

    -किसानहरूले ०७२ देखि पाइपबाट दूध संकलन सुरु गरेका हुन् । दुग्ध उत्पादन सहकारी संस्थाका सञ्चालक शिवप्रसाद सञ्जेलले व्यक्तिगत खर्चमा एक हजार तीन सय मिटर पाइप ओछ्याएका हुन् । ‘पहिला गाउँघरमा युवाको संख्या धेरै थियो, दूध संकलन गर्न पनि सजिलो थियो, युवाहरू बिदेसिन थालेपछि दूध ढुवानी गर्न समस्या भएपछि पाइपबाट संकलन गर्न थालेका हौँ,’ सञ्जेलले भने ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture