भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
माटोको सहर
माघ १६, २०७३- गुफाबारे तिमीहरूलाई कत्तिको थाहा छ ? कतिले कथामा राक्षस लुक्ने ठाउँका रूपमा गुफालाई बुझेका छौ होला । कतिले वन्यजन्तुहरूको बासस्थान भनेर चिनेका होलाऊ । कति त गुफा हेर्न पनि पुगेका छौ होला । भिरालो जमिनभित्र बनेको तेर्सो लामो सुरुङजस्तो प्वाललाई गुफा भनिन्छ । धेरैजसो गुफा प्राकृतिक हुन्छन् । कतिपयचाहिँ मानिसले नै बनाएका हुन्छन् ।
हिमालपारकिो जिल्ला मुस्ताङका अक्करे भीरहरू खोपेर यस्तै गुफा बनाइएका छन् । यी मानवनिर्मित गुफा विश्वमै रहस्यमयी मानिन्छन् । पुरातात्त्विक विचित्रताले भरिएका यी गुफा कहिले, कसले र किन बनाए भन्ने अझै यकिन हुन सकेको छैन ।
किम्बदन्तीअनुसार सयौं वर्षअघि तिब्बततिरबाट आउने लुटेराहरूबाट बच्न त्यस क्षेत्रका गाउँले भीरको गुफामा लुक्थे ।
साथै, उनीहरू कोही आउन नसकून् भनेर त्यहाँ आउने बाटो भत्काउने गर्थे । गुफाहरू प्राय: बस्तीनजिकका अक्करे भीरमा रहेकोले पनि यो किम्बदन्ती सत्य हुन सक्ने धेरैको विश्वास छ । बौद्धधर्मका गुरुहरूले साधना गर्नका लागि भीर खोपेर गुफा बनाएको भनाइ पनि छ । उनीहरू ध्यान, साधना र अध्ययन गर्न यस्तै गुफामा बस्ने गरेको अनुमान छ । स्थानीय बासिन्दाहरू अहिले यिनै दुई धारणामा विश्वास गर्छन् । तिब्बतबाट आउने लुटेराबाट आफू र आफ्नो धर्मको रक्षा गर्न अनि धार्मिक गुरुहरूको साधनालाई सिद्धि प्राप्त गर्न यी गुफा बनाइएको उनीहरू बताउँछन् । स्थानीय भाषामा फुग् भनिने गुफाहरू लोमन्थाङ क्षेत्रको धार्मिक/सामाजिक जीवनका आकर्षण हुन् । यहाँका प्राय: सबै बस्तीनजिकको पहाडी भीरमा मानवनिर्मित गुफाहरू पाइन्छन् । मुस्ताङका विभिन्न गाउँछेउका भीरहरूमा करिब एक सयको हाराहारीमा यस्ता गुफा छन् ।
मुस्ताङका गुफाहरूमा लुकेका मानव सभ्यताको पहिलो पटक सन् १९९२–१९९७ सम्म जर्मनका पुरातत्त्वविद् र नेपालको पुरातत्त्व विभागका अनुसन्धानकर्ताले अध्ययन गरेका थिए । टोलीले मुक्तिनाथ पारिपट्टि रहेको मेद्राक पहाडको गुफामा मानव शव फेला पारेको थियो । पुरातत्त्व विभागको डीएनए परीक्षण अभिलेखअनुसार उक्त शव २ हजार ४ सय १४ वर्ष पुरानो थियो ।
अमेरिकाको क्यालिफोर्नियास्थित मर्सेट विश्वविद्यालयका डिन तथा मानवशास्त्री मार्क एडलेन्डरपरसमेतको टोलीले उपल्लो मुस्ताङको साम्जोङ गाउँनजिकको गुफाबाट सन् १०११ र २०१२ मा विभिन्न प्राचीन मानव सभ्यता पुष्टि गर्ने पुरातात्त्विक महत्त्वका वस्तु फेला पारेको थियो ।
मुस्ताङका झोङ्ग, छोसेर, गार्फुग, लुरी, छयोजोङ आदि नजिकका अक्करे भीरमा पनि मानवनिर्मित गुफा छन् । तिब्बती सीमामा पर्ने छोसेर गाविसको पाँचतले र डेढ सय कोठा रहेको झोङ्ग गुफा पर्यटक आकर्षणको केन्द्रसमेत हो । गुफाको तला चढ्न काठका भर्याङहरू राखिएका छन् । जोमसोम–लोमन्थाङ–कोरला जोड्ने मोटरबाटोको पारिपट्टि १५ मिनेटमा पुग्न सकिन्छ ।
मुस्ताङमा प्राग्ऐतिहासिक सभ्यताको संकेत गर्ने गुफा मात्र होइन मानव सभ्यताको जीवन्त स्वरूपसमेत भेट्न सकिन्छ । युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको ‘माटोको सहर’ मुस्ताङको उपल्लो भेग अर्थात् लोमन्थाङ इतिहास, संस्कृति, कला वास्तुकलाको दृष्टिले महत्त्वपूर्ण छ । मुस्ताङका कतिपय धार्मिक संस्था र गुम्बाहरू पनि भीर खोपेर बनाइएका गुफासँगै निर्मित छन् ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment