• Breaking News

    Wednesday, April 26, 2017

    १२ छोराछोरीकी आमा भन्छिन्, ‘छोराले एक छाक खान पनि दिएन’

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    १२ छोराछोरीकी आमा भन्छिन्, ‘छोराले एक छाक खान पनि दिएन’  

     काठमाडौं, १३ वैशाख– पशुपतिनाथ मन्दिर परिसरमा गाइएका भजनका धुनले   वातावरणलाई अझ शान्त बनाएको छ । त्यही शान्त पाशुपतक्षेत्रमा रहेको वृद्धाश्रमको माथिल्लो तलामा केही आमाहरू लहरै बसेका छन् ।
    आमाको मुख हेर्ने मातातीर्थ औंसीको दिन पशुपति क्षेत्रमा चहलपहल छ । कसैकसैले आमालाई पशुपति दर्शन गर्न ल्याएका छन् । तर यो वृद्धाश्रममा सन्नाटा छ ।
    लस्करै सुत्न मिल्नेगरी राखिएका खाटमा बोल्न नसक्ने केही आमाहरू पल्टेका छन् । केही आमाहरू खाटमै बसिरहेका छन् । कोठामा त्यति धेरै उज्यालो छिर्न सकेको छैन । यहाँका दर्जनौ वृद्ध आमाहरूलाई मातातीर्थ औंसीले छोएको छैन ।
    तल्लो तलामा बस्ने एक वृद्धा आमाले मलाई माथिल्लो तलामा पु¥याइदिनुभएको थियो । उहाँले भन्नुभएको थियो, ‘यहाँ छोराछोरी भएका थुप्रै आमाहरू बस्छन् तर उनीहरूले आफ्नो छोराछोरी भएको भन्दैनन् ।’
    केही दिनअघि छोरीको घर जाँदा लडेर जिउ दुखेको बताउने चित्रकुमारी अधिकारी दुई खाटबीचको भुइँमा बोरा ओछ्याएर बसेकी छन् । एकदमै कम उज्यालो छिरेको झ्यालको उज्यालोमा उनको अनुहार थकित देखिन्छ ।
    ‘बाबु, म वृद्धाश्रम जान्छु । खानै नपाउने ठाउँमा जान लागेकी त हैन नि भनेर सुनाउँदा बुवा बित्दा पनि नरोएको छोरोले तरक्कै आँसु झा¥यो,’ मुसुक्क हाँस्दै मधुरो आवाजमा चित्रकुमारीले सुनाइन्, ‘एउटो हो र ? मैले १२ छोराछोरी पाएकी थिएँ । धेरैलाई बचाउन सकिनँ । अहिले पनि तीन छोराछोरी काठमाडौंमा छन् ।’
    बाह्र छोराछोरीकी आमा चित्रकुमारी सानोतिनो कारणले भने वृद्धाश्रममा आएकी होइनन् । बिरामी शरीर यसरी यो एकलासे ठाउँमा आउनुको कारण उनी आफ्नो भाग्यलाई मान्छिन् ।
    ‘कान्छो छोरो सानै हुँदा बुवाको मृत्यु भयो । जेठो छोरोले घर धान्ने भन्दा पनि लंगुरबुर्जा खेलेर पैसा सक्न थाल्यो ।’ नौ वर्षको उमेरमा आफ्नो बिहे भएको सम्झँदै उनी सुनाउँछिन्, ‘जेठो छोराले सबै सम्पत्ति खायो । गाउँमा जाने बाटो पनि राखेको छैन ।’
    जेठो छोरासँग उनको राम्रो सम्बन्ध छैन । सम्पत्तिकै कारणले भाइभाइको सम्बन्ध पनि राम्रो बन्न नसकेको उनी बताउँछिन् ।
    ‘दशैं तिहारमा पनि जेठो छोरो भेट्न आएको छैन । बाँचेको पहिलो छोरो हो । माया त लाग्छ नि । तर कहिल्यै भेट्न आउँदैन,’ सुकेको स्वरलाई अझै सुकाउँदै चित्रकुमारी भन्छिन्, ‘यतै काठमाडौंमा कालिमाटीतिर कता बस्छ भन्ने सुनेकी छु । म गएँ भने पनि एक छाक खान पनि दिँदैन ।’
    उनी बेलाबेलामा चिसोले गर्दा आफ्नो ज्यान दुखेको पनि सुनाउँछिन् ।
    बाह्र छोराछोरीमध्ये बचेका दुई छोरा र दुई छोरीमध्ये बनेपामा बिहे भएकी एउटीले विष खाएर आत्महत्या गरेको उनी बताउँछिन् ।
    ‘अर्की छोरीकहाँ पनि कहिलेकाहीँ जान्छु । बेलाबेलामा खाना खानेगरी बोलाउँछे,’ उनी भन्छिन्, ‘कान्छो छोराले त राम्रै गरेको थियो । उसलाई पनि रगतको क्यान्सर लाग्यो ।’
    बेलाबेलामा रगत फेरिरहनुपर्ने छोराले बूढी आमैको हेरचाह गर्न नसक्ने उनी बताउँछिन् । ‘आफैंले भातको थाल उचाल्न सक्दैन, मलाई उसले के सहयोग गर्थ्यो ?’ उनी भन्छिन्, ‘रोगी भयो । आफैंले कमाएर खान सक्दैन । उसको राम्रो भए मलाई पुग्छ ।’
    कान्छो छोरोले भने उनलाई ‘आउनुस्, हामीसँगै बस्नुस्’ भनेर भनिरहने उनी बताउँछिन् । कहिलेकाहीँ आश्रममा पनि भेट्न आउँदा उनलाई खुशी लाग्छ ।
    ‘एक छोरोले भएको सम्पत्ति पनि खायो । अर्को छोरो बिरामी प¥यो,’ उनी भन्छिन्, ‘अहिलेको जमानामा बुहारीको कमाइ खान सकिन्न रहेछ त नानी ।’
    उमेरसँगै उनलाई पनि रोगले च्याप्दै गएकोमा उनलाई साँच्चिकै गाह्रो भएको छ । त्यसो त उस्तै व्यथा भएका धेरै आमाहरू उसरी नै खाटभरि सुतेका छन् ।
    चित्रकुमारी सुनाउँछिन्, ‘मैले यत्तिका छोराछोरी पाएर पनि यो उमेरमा आश्रममा आएर शरण माग्नुपर्ला भनेर सपनामा पनि सोचेकी थिइनँ ।’
    यसो भन्दा धेरैबेरदेखि सिधै मलाई हेरेर कुरा नगरेकी चित्रकुमारीले पुलुक्क मलाई हेरेर सोधेकी थिइन्, ‘तपार्इंको घर कहाँ हो नि?’

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture