• Breaking News

    Friday, May 5, 2017

    कति होला महानगरपालिकाको मेयर र वडा अध्यक्षको तलव ?

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    कति होला महानगरपालिकाको मेयर र वडा अध्यक्षको तलव ?

     २२ बैशाख, काठमाडौं । स्थानीय तहको निर्वाचनबाट आउने जनप्रतिनिधिले कस्ता सेवा सुविधा तथा तलब भत्ता पाउँलान् ? यस विषयमा धेरैको चासो छ । किनकी करिब एक सातापछि ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा प्रमुख र उपप्रमुख र त्यस अन्तरगतका वडाका वडाअध्यक्ष र सदस्यहरु निर्वाचित भएर आउँदैछन् ।

    त्यसरी निर्वाचित हुने पदाधिकारीहरुको तलब भत्ता र सुविधाबारे स्थानीय विकास मन्त्रालयले प्रारम्भिक गृहकार्य अघि बढाएको छ । मन्त्रालयले स्थानीय तहका पदाधिकारीहरुलाई प्रस्ताव गरेको सेवा सुविधा अनुसार महानगरपालिकाको मेयरको मासिक तलब ६० हजार र उपमेयरको ५० हजार रुपैयाँ हुनेछ ।

    प्रारम्भिक चरणको छलफल भएकाले यो अंकमा केही फेरबदल हुनसक्ने स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले बताए ।

    मन्त्रालयले मेयर/उपमेयर तथा गाउँपालिका प्रमुख/उपप्रमुख र वडाअध्यक्षहरुलाई मासिक तलब भत्ताको प्रस्ताव तयार पारेको छ । वडा अध्यक्ष समेत कार्यकारी भूमिकामा रहेकाले मासिक सेवा सुविधाको व्यवस्था गरिएको हो ।

    महानगरपालिकाको मेयरको मासिक तलब ६० हजार रुपैयाँ बाहेक अतिरिक्त भत्ता, गाडि सुविधा लगायतका विभिन्न शिर्षकमा थप सुविधा पाउन सक्नेछन् । महानगरपालिकाको उपमेयरको मासिक पारिश्रमिक मात्र ५० हजार रुपैयाँ प्रस्ताव गरिएको छ । उपमेयरलाई पनि गाडी सुविधा र विभिन्न शीर्षकको भत्ताको व्यवस्था प्रस्ताव गरिएको छ ।

    यस्तै उपमहानगरपालिकाको मेयरका लागि मासिक ५० हजार प्रस्ताव गरिएको छ । उपमहानगरपालिकाको मेयरले पनि गाडी सुविधा पाउने छन् । यस्तै विभिन्न शीर्षकमा भत्ताको पनि व्यवस्था प्रस्ताव छ । तर कुन शीर्षकको भत्ता कति हुन्छ भन्ने खुलाइएको छैन । यस्तै उपमेयरका लागि ४५ हजार प्रस्ताव गरिएको छ ।

    गाउँपालिका प्रमुख र उपप्रमुखलाई गाडी छैन

    नगरपालिकाको मेयरका लागि मासिक पारिश्रमिक ४५ हजार र उपमेयरका लागि ४० हजार प्रस्ताव गरिएको छ । यस्तै गाउँपालिका प्रमुखको मासिक तलब ३५ हजार र उपप्रमुखको मासिक तलब ३० हजार रुपैयाँ प्रस्ताव गरिएको छ । मन्त्रालयले प्रारम्भिक गृहकार्यमा गाउँपालिका प्रमुख र उपप्रमुखका लागि भने गाडी सुविधा दिन नसकिने प्रस्ताव गरेको छ ।

    वडा अध्यक्षको पारिश्रमिक कति ?

    मन्त्रालयले वडा अध्यक्षहरुका लागि पनि फरक-फरक दरको मासिक पारिश्रमिक प्रस्ताव गरेको छ । महानगरपालिकाको वडा अध्यक्षहरुलाई मासिक ३० हजार पारिश्रमिक दिनुपर्ने मन्त्रालयको प्रस्ताव छ ।

    यस्तै उपमहानगरपालिका अन्तर्गतका वडा अध्यक्षलाई २५ हजार, नगरपालिका अन्तर्गतका वडा अध्यक्षलाई २० हजार र गाउँपालिका अन्तर्गतका वडा अध्यक्षलाई १५ हजार रुपैयाँ मासिक पारिश्रमिक प्रस्ताव गरेको छ ।

    यसअघि कसको तलब कति थियो ?

    स्थानीय स्वायत्त शासन ऐन अनुसार २०५६ सालमा महानगर, उपमहानगरका र नगरपालिकाको मेयर तथा उपमेयर र गाविस अध्यक्षको सेवा सुविधा तोकिएको थियो ।

    उक्त ऐन अनुसार तत्कालिन महानगरपालिकाका मेयरको तलब ६ हजार ५ सय रुपैयाँ थियो । यसबाहेक गाडी सुविधा र महानगरपालिकाले तोके बमोजिम भत्ताको व्यवस्था हुन्थ्यो । यस्तै उपप्रमुखको तलब ५ हजार ५ सय थियो । उपप्रमुखले पनि गाडी सुविधा र छुट्टै भत्ता पाउथे ।

    यस्तै उपमहानगरपालिकाले ५ हजार ५ सय तलब र तोकिए बमोजिम भत्ता र गाडी लगायतका सेवा सुविधा पाउँथे । उपप्रमुखको तलब ४ हजार ५ सय तोकिएको थियो । यसैगरी नगरपालिकाको मेयरको तलब ४ हजार ५ सय र उपमेयरको तलब ३ हजार ५ सय तोकिएको थियो ।

    यसैगरी गाविस अध्यक्षको तलब १ हजार ५ सय र उपाध्यक्षको तलब एक हजार रुपैयाँ थियो ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture