• Breaking News

    Monday, May 15, 2017

    काठमाडौंवासीको एक भोट दाइलाई, एक भोट बैनीलाई !

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    काठमाडौंवासीको एक भोट दाइलाई, एक भोट बैनीलाई !


     १ जेठ काठमाडौं । हुन त सोमबार साँझसम्म काठमाडौं महानगरपालिकाको भोट १ हजार पनि गणना भएको छैन । लाखौं मतदाता भएको महानगरका दुई चार सय मतकै आधारमा विश्लेषण गर्नु निकै हतारो हुन सक्छ । तर, मतगणनाको सुरुवात अति नै रोमाञ्चक देखिएको छ ।

    काठमाडौं महानगरको मतगणनाको सुरुमा केही समय कांग्रेसका राजुराज जोशी रञ्जु दर्शना र किशोर थापाभन्दा पनि पछि परे । नेपाली कांग्रेसजस्तो पुरानो र राजधानीको बलियो भनिएको पार्टी मसिना दलहरुसँग प्रतिस्पर्धा गर्दैछ, जुन कम्ता रोचक विषय होइन ।

    अघिल्लो चुनावमा राजधानीबासीले एकभोट दाइलाई एकभोट गाईलाई भन्दै नेपाली कांग्रेसलाई बढी सीटमा जिताएका थिए । उनीहरुले हिन्दुराष्ट्र र राजतन्त्रको वकालत गर्ने कमल थापाको पार्टीलाई समानुपातिकतर्फ काठमाडौंमा पहिलो दल बनाएका थिए ।

    तर, सोमबार सुरु भएको काठमाडौं महानगरपालिकाको मतगणनालाई हेर्दाखेरि यसपटक राजधानीबासीले एकभोट अर्कै दाइलाई खसाएको देखियो । दाइ अर्थात किशोर थापालाई ।

    रविन्द्र मिश्रले भर्खरै खोलेको साझा पार्टीबाट क्यामेरा चुनाव चिन्ह लिएर उठेका पूर्वसचिव किशोर थापाले सम्मानजनक मत ल्याइरहेका छन् । कतिपय बेलामा उनी कांग्रेसभन्दा अघि बढेर एमालेलाई पछ्याउँदैछन् ।

    त्यसैगरी सबैभन्दा कलिलो उमेरकी विवेकशील नेपालीकी रञ्जु दर्शनाले पनि एमालेका विद्यासुन्दर शाक्य, कांग्रेसका राजुराज र साझा पार्टीका किशोर थापालाई पछ्याइरहेकी छिन् ।

    यो स्थितिलाई आँकलन गर्दा यसपालि राजधानीबासीले एकभोट दाइ (किशोर) लाई र एकभोट बहिनी (रञ्जु) लाई दिन चाहेको स्पष्ट छ ।

    राप्रपा र एमालेवीच तालमेल भएको अवस्थामा मेयरका उम्मदेवार विद्यासुन्दर शाक्यले अग्रता कायम गर्नु स्वाभाविकै हो । तर, उपमेयरमा एमालेसँग तालमेल गरेका राप्रपामा राजाराम श्रेष्ठले पाएको मत हेर्दाखेरि उनलाई एमालेले धोका दिएको आशंका गर्न सकिन्छ ।

    राप्रपा समेतको मतले विद्यासुन्दर अगाडि देखिए पनि एमालेसँग तालमेल गरेका राजाराम श्रेष्ठ भने उपमेयरकी कांग्रेस उम्मेदवार हरिप्रभा खड्गी भन्दा निकै पछाडि छन् ।
    राप्रपालाई यसपटक राजधानीमा एमालेले मात्रै धोका दिएको होइन, काठमाडौंबासीले नै नरुचाएको अनुमान लगाउन सकिन्छ ।

    यसपालिका राप्रपाको मत राजधानीमा मात्रै होइन, अन्य महानगर र जिल्लामा पनि खासै उत्साहजनक देखिएको छैन ।

    राप्रपाजस्तै हालत यसपालि काठमाडौं उपत्यकामा माओवादीको पनि बनेको छ । आफ्नो स्वतन्त्र पहलकदमीमा भन्दा कांग्रेससँग तालमेल गर्न रुची गरेको माओवादीको मत राजधानीमा यही अवस्थामा मात्रै झर्‍यो भने जमानत जफत गर्नुपर्ने स्थितिमा नपुग्दा भन्न सकिन्न ।

    काठमाडौं महानगरपालिकाको मतगणनाको रुझानलाई हेर्दाखेरि एमालेले पनि डराउनुपर्ने अवस्था किन छ भने राजधानीबासीले आगामी निर्वाचनमा विवेकशील र साझा पार्टीलाई रोज्ने सम्भावना बढेको छ, यो कांग्रेसका लागि मात्रै होइन, एमालेका लागि पनि खतरा हो ।

    काठमाडौंमा संघीय समाजवादी र नयाँ शक्ति पार्टीका तर्फबाट पवित्र बज्राचार्य पनि मेयरका प्रत्याशी छन् । तर, राजधानीको राजनीतिमा नयाँशक्तिका अभियन्ता डा. भट्टराईले भन्दा पनि उज्जल थापा र रविन्द्र मिश्रले बाजी मारेको देखियो ।

    र, यो चुनावको परिणामले काठमाडौंमा केजरीवाल जन्मने संकेत देखिएको छ ।

    तर, यसलाई दुर्भाग्य नै मान्नुपर्छ, विवेकशील र साझा पार्टीले काठमाडौंमा संयुक्त उम्मेदवारी दिएर दाइलाई मेयर र बहिनीलाई उपमेयरमा उठाएको भए कांग्रेस र एमालेले हात हुनुपर्ने अवस्था आउने रहेछ ।

    तर, आगामी चुनावका लागि यो सम्भावना सकिएको छैन । रञ्जु वा किशोरको जितकाे सम्भावना टरेको छैन ।

    महानगरपालिका बाहेक काठमाडौं जिल्लामा बाँकी ५ नगरपालिकामा भने कांग्रेस ५ स्थानमा र एमाले ४ स्थानमा अग्रस्थानमा छ । चन्द्रागिरी नगरपालिकामा भने माओवादी अग्रस्थानमा छ ।

    २०७४ जेठ १ गते २१:०६ मा प्रकाशित

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture