• Breaking News

    Saturday, May 6, 2017

    विदेशमा हराएकी आमाको अनुहार याद छैन तर सपनामा देख्छन्

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    विदेशमा हराएकी आमाको अनुहार याद छैन तर सपनामा देख्छन्

     रामकुमार थापा/धादिङ ।
    वैशाख २२ – गड्याङगुडुङ गरेर हुरी चल्दा अनि बिजुली चम्किँदा ११ वर्षका दिलिप आमा आमा भनेर बोलाउँछन् । धेरै पटक बोलाउँदा पनि आमा बोलेको नसुनेपछि डाको छोडेर रुन्छन् ।
    आमा विदेश जाँदा उनी ७ वर्षका थिए । त्यसैले उनलाई आमाको अनुहार प्रष्ट याद छैन । तर पनि मेरो आमा हो ? भन्दै सोध्छन् । विपनामा मात्रै होइन सपना देखेर व्युँझिएपछि पनि दिलिप यस्तै गर्छन् । ‘सपनामा आमालाई देख्दो रैछ कि क्या हो ब्युँझिएपछि अघिसम्म आमा यही हुनुहुन्थ्यो, अहिले कता जानुभयो भनेर खोज्न थाल्छ ।’ दिलिपका बुवा सानोबाबु पौड्याल भन्नुहुन्छ ‘सपनामा देखेको कुरा बिपनामा कहाँ देखिनु यसलाई कसरी बुझाउनु ?’

    सानुबाबुका अर्का छोरा दिपेश १३ वर्षका भए । उनी घर नजिकै रहेको विद्यालयमा ८ कक्षामा पढ्छन् । भाइले सपनामा देखेर आमा खोज्छन् तर दिपेश चाहिँ सँगै पढ्ने साथीहरुका आमाहरुलाई देखेर । ‘सँगैका साथीलाई आमा स्कुलसम्म पु¥याउन आउँछन्, खाजा बनाएर पठाउँछन तर मेरो आमा भने अहिलेसम्म मरे, बाँचेको थाहा छैन’ दीपेशले भन्छन् ।
    परिवारको आर्थिक अवस्था सुधार्ने, अभाव टार्ने र छोराहरुको भविष्य राम्रो बनाउने सपना लिएर दिलिप र दिपेशकी आमा अस्मिता चार वर्षअघि कुवेत जानुभएको हो । त्यतिबेला सुरुमा त अस्मिताका श्रीमान सानोबाबु नै विदेश जाने तयारीमा हुनुहुन्थ्यो तर मेडिकल गर्दा छातीमा दाग देखिएपछि उहाँ जान पाउनुभएन । श्रीमान विदेश जान नपाएपछि अस्मिता आफैं विदेश जानुभयो । त्यो पनि आफैंले लगाएको सुन धितो राखेर पैसा निकालेर । घर छोड्ने बेलामा श्रीमान श्रीमतीले कमाएपछि घरको आर्थिक अवस्था राम्रो हुन्छ भन्ने सपना देखे । तर न भनेको जस्तो न त सोचे जस्तो नै ।
    जाने बेलामा कमाउने योजना थियो अस्मिताको तर विदेश पुगेपछि चाहिँ पैसा पठाउनुभएन । फोनमा केही पनि भन्नुहुन्थ्यो । आज नभएपनि भोलि त होला नी भन्ने आशामा बस्नुभयो । त्यहीबिचमा भूकम्पले सानुबाबुको घर भत्कियो । आर्थिक अभावले घर बनाउन नसकेपछि उहाँका परिवारको बास भैँसी बाँध्ने छाप्रोमा भयो । उहाँको परिवार यसरी बिजोक भएको फोटो अस्मिताका एक जना साथीले फेसबुकमा हालेपछि अस्मिताले तिनै साथीलाई आफूले छिमेकी भाउजुलाई पैसा पठाइदिएको भन्दै सानुबाबुलाई भन्दिन भन्नुभयो ।
    तिनै साथीले भनेका आधारमा सानुबाबुले छिमेकी भाउजुसँग एक लाख २० हजार रुपैयाँ लिनुभयो अनि श्रीमती जाँदा लिएकोदेखिका ऋण तिर्नुभयो । तर त्यसपछि अस्मिता सम्पर्कमा हुनुहुन्न ।
    घरको अवस्था दयनीय
    घरमा प्यारालाईसिस भएका बृद्ध बुबा, कान नसुन्ने आमा र दुई जना छोरा मात्रै छन् । घरमा पुग्ने जोकोहीको पनि घरको अवस्था देख्दा मन कुडिन्छ । भूकम्पले घर भत्किएपछि सानोबाबुको परिवार अहिले भैँसी बाँध्ने छाप्रोमा बसिरहेको छ ।
    खाना पकाउने, राखनधरनदेखि सुत्ने एकै ठाउँमा छ । सानोबाबु निद्रा पुर्याउन मात्रै घरमा आउनुहुन्छ नत्र घाम झुल्केदेखि नअस्ताएसम्म काममै व्यस्त हुनुहुन्छ । उहाँले दिनरात नखटे परिवारका सदस्य भोकै पर्छन् ।
    यति गर्दा पनि कहिलेकाहिँ भागेको अभावले उहाँको मन अमिलो हुन्छ । ‘छोराहरुले स्कुल जान कपी चाहियो भने तर मसँग उनीहरुलाई दिने पाँच रुपैयाँ पनि थिएन, उनीहरु रुँदै गए त्यो दिन अब कहिले नओस् जस्तो लागिरहन्छ’ सानुबाबुले लामो सुस्केरा हाल्दै सम्झिनुभयो । बुबालाई महिनाको एक हजार औषधि, बालबच्चालाई पढाउन, घरखर्च चलाउन र ऋणको व्याज तिर्नुपर्ने बाध्यता पनि सानोबाबुलाई । त्यसमाथि उहाँ आफैं पनि रोगी । पहिले क्षयरोग भएर १० महिना औषधि खाएका सानोबाबुलाई अहिले पनि छातीको समस्याले सताइरहेको छ ।
    उहाँको घाँटीमा पनि घाउ छ । त्यो घाउबाट हप्ताको एक पटक पीप निस्कन्छ तर पैसा नभएपछि उहाँले उपचार गर्न सक्नुभएको छैन । ‘मैले कमाएको पैसा खर्च गरें भनें बुवाको औषधि केले किन्ने अनि आमा र छोराछोरीको पेट केले भर्ने ?’ सानोबाबु प्रश्न गर्नुहुन्छ ।
    श्रीमती खोजिदिन आग्रह गर्दै सानोबाबु विभिन्न निकायमा पुग्नुभयो । अस्मितालाई खोजेर घर फर्काइदिन आग्रह गर्दै उहाँले धादिङको सूचना तथा परामर्श केन्द्र धादिङमा निवेदन दिनुभएको छ । तर श्रीमती विदेश जाँदाका कुनै कुनै कागजपत्र छैनन् ।
    अनि अस्मिता कुन ठाउँमा के काम गर्नुहुन्छ भन्ने पनि थाहा छैन । त्यसैले ती संस्थाहरुले पनि कुनै पत्तो लाउन सकेका छैनन् । श्रीमती नेपाल फर्किए मात्र पनि बच्चाहरु खुशी हुन्थे भन्ने लाग्छ उहाँलाई । तर उहाँ पुगेका निकायहरुबाट अहिलेसम्म कुनै खबर आएको छैन ।
    उज्यालो अन्लाईन बाट

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture