भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
काठमाडौं- सत्तारुढ दलहरू कांग्रेस र माओवादी केन्द्रबीच भएको पूर्व सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ पहिलो साता राजीनामा दिने भएका छन्। पहिलो चरणको स्थानीय निर्वाचनलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने दुई दलको सहमति थियो। यसअनुसार जेठ ४ गते संसद बैठक सुरु भएपछि प्रधानमन्त्री दाहालले पहिलो साताभित्रै राजीनामा दिने एक कांग्रेस नेताले बताए। दाहालको राजीनामापछि देउवालाई सत्ता सम्हाल्न भने जेठ तेस्रो साता नै लाग्न सक्छ।
संविधानको धारा २९८ को उपधारा २ बमोजिम नयाँ प्रधानमन्त्री चयन गर्न राष्ट्रपतिले सहमतिका लागि एक साताको समय दिनुपर्छ। संसदमा रहेका दलहरूबीच सहमतिको अवस्था नभएकाले सात दिन बितेपछि संसदबाट प्रधानमन्त्री निर्वाचित गराइनेछ। यसका लागि कांग्रेस र माओवादीबीच पहिले नै सहमति भइसकेको छ। सबै प्रक्रिया पूरा गरी संसदबाट कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री निर्वाचित गर्दासम्म जेठ १५ नाघ्नसक्ने नेताहरू बताउँछन्। यसअनुसार अर्थमन्त्री कृष्णबहादुर महराले नै जेठ १५ गते चालू खर्च समावेश गरी कामचलाउ बजेट पेस गर्नेबारे दुई दलबीच सहमति भएको ती कांग्रेस नेताले जानकारी दिए। संविधानले नयाँ आर्थिक वर्षको बजेट जेठ १५ मै ल्याउनुपर्ने प्रस्ट व्यवस्था गरेको छ। दाहालको राजीनामा र देउवाको नियुक्ति हुँदासम्म त्यो मिति गुज्रने स्थिति रहेकाले अहिलेकै सरकारले कामचलाउ बजेट ल्याउने सहमति जुटेको हो। प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग पनि यसबारे केही दिनअघि कुराकानी भएको थियो। एमाले अध्यक्ष केपी ओलीले बजेट ल्याउने मिति सार्न नमिल्ने भन्दै त्यस दिन प्रशासनिक खर्च मात्र धान्ने गरी कामचलाउ बजेट ल्याउन सुझाव दिएका थिए। यही आधारमा सत्तारुढ दलहरू कामचलाउ बजेट ल्याउने तयारीमा जुटेको कांग्रेस तथा माओवादी नेताहरूको भनाइ छ। कामचलाउ बजेटमा कर्मचारीहरूको तलबभत्ता लगायत प्रशासनिक खर्चका अतिरिक्त पुनर्निर्माणमा लाग्ने खर्च, पहिलो चरणको चुनावबाट बन्ने स्थानीय तहको निम्ति तत्काल गर्नुपर्ने खर्च र प्रदेश तथा संघीय चुनावका लागि चाहिने खर्च समेटिनेछन्। यसबारे एमालेसँग फेरि छलफल गर्ने सत्तारुढ दलहरूको तयारी छ।
‘यी सबै खर्च नियमित कार्यक्रममा पर्ने भएकाले यसलाई समेटेर कामचलाउ बजेट ल्याउन एमालेसँग सहमति लिनेछौं,’ एक कांग्रेस नेताले भने। यसरी जेठ १५ गते कामचलाउ बजेट ल्याएपछि प्रधानमन्त्री देउवालाई सत्ता हस्तान्तरण गरिनेछ। यसो गर्दा जेठ तेस्रो साता लाग्न सक्छ। त्यसपछि देउवाले नै दोस्रो चरणको स्थानीय तह निर्वाचन गराउनेछन्। त्यो निर्वाचनपछि देउवा सरकारले पूरक बजेट ल्याउनेछ। कांग्रेस र माओवादीबीच गत साउनमा भएको पाँचबुँदे गोप्य सहमतिअनुसार दाहाल नेतृत्वको सरकार चैत मसान्तसम्म रहने र त्यसपछि कांग्रेस सभापति देउवालाई सत्ता हस्तान्तरण गर्ने भनिएको थियो। त्यही सहमतिका आधारमा सरकार गठन गरेका दाहालले स्थानीय तहको निर्वाचन वैशाख ३१ गते गराउने सर्तमा कांग्रेससँग एक महिना थप समय मागेका थिए। यसबीच संविधान संशोधन गरी मधेसी मोर्चालाई पनि सहभागी गराएर पहिलो चरणको निर्वाचन सम्पन्न गराउन सके यही नै आफ्नो नेतृत्वको सबैभन्दा ठूलो उपलब्धि हुने दाहालको बुझाइ रह्यो, जुन उनले पूरा पनि गरे। अब जेठ ३१ गतेका लागि घोषित दोस्रो चरणको निर्वाचनअगावै वैशाख ३१ को परिणामधरि नपर्खी देउवालाई सरकारको नेतृत्व सुम्पन तयार रहेको दाहालले बताउँदै आएका थिए। आइतबार तीन प्रदेशमा भएको पहिलो चरणको निर्वाचन केही घटनाबाहेक शान्तिपूर्ण नै रह्यो। तीनैवटा प्रदेशमा गरी ७३ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment